भारतबिरूद्ध नेपाली महिला टोली इतिहास रच्न आ­­तुर

साफ महिला फुटबल च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा फाइनलमा भारतसँग पराजित भएको नेपाल अर्को ऐतिहासिक भीडन्तका लागि तयार भएको छ।
नेपाली महिला फुटबल टोली सोमबार भारतको पश्चिम बंगालस्थित सिलिगुढीको कञ्चनजंघा रंगशालामा पहिलो सेमिफाइनलअन्तर्गत भारतसँग नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा भिड्दैछ।
यसअघि नेपाल र भारतबीच ७ पटक भिडन्त भइसकेको छ। जसमा नेपालले एक पल्ट मात्र खेललाई बराबरीमा रोकेको छ। बाँकी ६ खेलमा पराजय भोगेको छ। यसमध्ये पनि ५ खेलमा नेपाल फाइनलमा पराजित भएको थियो।
सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपको अघिल्लो तीन संस्करण र दक्षिण एसियाली खेलकुदको दुई वटा संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।
यस अर्थमा नेपालका लागि सोमबारको खेल ऐतिहासिक मानिएको छ। नेपाली प्रशिक्षक कुमार थापा पनि भारतविरुद्धको सेमिफाइनल खेललाई ऐतिहासिक मान्छन्। पहिलो पल्ट महिला राष्ट्रिय टोलीलाई प्रशिक्षित गरेका कुमारको नेतृत्वमा समूह चरणको खेलमा नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले पराजित गरेको थियो।
नेपाली युवती सावित्रा भण्डारीले भुटानविरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्सविरुद्ध ५ गोल गर्दै तहल्का पिटेकी छिन् भने अन्य खेलाडीको खेलबाट पनि स्थानीय दर्शकहरु लोभिएका छन्। विगतको तुलनामा यसपाली नेपालको आक्रमण जबरदस्त देखिन्छ। विङबाट पनि नेपालले गतिलो प्रहार गरेको छ। गीता राणाको डिफेन्स लाइन–अपबाट पनि नेपालले थुप्रै आशा राखेको छ।
‘भारत र नेपाल जहिले पनि फाइनल खेलिरहेको टिम हो। यसपाली हामी सेमिफाइनलमा भिड्दै छौं। तर, हाम्रा खेलाडीले जुन किसिमको प्रदर्शन गरेका छन्। यसबाट इतिहास रच्ने कुरामा म ढुक्क छु’, नेपाली खेलाडीको बदलिएको मानसिकताबाट उत्साही देखिएका प्रशिक्षक कुमार थापाले सेतोपाटीसँग भने।
भारतले समूह चरणको खेलमा अफगानिस्तानलाई ५–१ ले पराजित गरेको थियो। तर, बंगलादेशले आयोजक भारतलाई उसैको घरेलु मैदानमा दोस्रो खेलमा गोलरहित बराबरीमा रोकेको थियो। पहिलो पल्ट भारत समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा नेपालसँगको सम्भावित भिड्न्तलाई टार्न बंगलादेश र भारतले कडा प्रतिस्पर्धा गरेका थिए।
भारतलाई गोलरहित बराबरीमा रोकेपछि बंगलादेश समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो।
भारतीय प्रशिक्षक सजित धरले पनि नेपाली टोली विगतभन्दा बलियो भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल सधै बलियो प्रतिद्धन्द्धी हो। हामीसँग पहिलेदेखि नै कडा रूपमा प्रस्तुत हुँदै आइरहेको छ,‘ धरले नेपाली मिडियासँग भने। उनको नेतृत्वमा भारतीय महिला टोलीले १० महिनाअघि भारतको सिलोङ राज्यमा भएको १२ औं साग खेलकुदमा नेपालसँग दुई वटा खेल खेलेको थियो। जसमा समूह चरणको खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो। फाइनलमा भने नेपाल ४–० ले पराजित बन्न पुग्यो।
भारतीय टोलीको सबैभन्दा बलियो पक्ष भनेको ‘स्टामिना’ हो। इङ्ल्यान्डको वेष्ट हाम युनाइटेड क्लबको महिला टोलीबाट खेल्ने गोलरक्षक आदिती चौहान भारतीय टोलीको सबैभन्दा ठूलो पूँजी हो।
९ खेलमा १९ गोल गरिसकेकी कप्तान नागारगोम बाला देवी र १२ औं सागको सर्वाधिक गोलकर्ता युमनाम कमला देवीको दुवै स्ट्राइकिङ जोडी नेपालका लागि सबैभन्दा खतरनाक मानिएको छ।
२६ वर्षीय कप्तान नागारगोम माल्दिभ्सको न्यु राडियन्ट क्लबबाट खेल्ने गर्छिन्। १० महिनाअघि नेपाललाई १२ औं सागको फाइनलमा हराउँदा नागारगोमले एक गोल गरेकी थिइन्। अझ, २४ वर्षीय कमला देवीले २ गोल गरेकी थिइन्। उनले सागमा सर्वाधिक ५ गोल गरेकी थिइन्।
प्रशिक्षक कुमार थापा भारतका यी तीन खेलाडीबाहेक विङबाट खेलिरहेका थप ४ खेलाडी पनि नेपालका लागि खतरनाक हुन सक्ने बताउँछन्। तर, उनी आफ्नो दृष्टी गोल हान्न मै केन्द्रीत रहने औल्याउँछन्। ‘यस प्रतियोगितामा हाम्रा खेलाडीले पनि विङ र बीचबाट राम्रो प्रहार गरेका छन्। स्ट्राइकरमा कुनै समस्या छैन,’ कुमारले भने।
भारतीय खेमामा नेपाली स्ट्राइकर सावित्रालाई लिएर जबरदस्त दबाबको स्थिति छ। उनलाई रोक्न भारतीय टोलीले विशेष योजना बनाएको प्रशिक्षक धर बताउछन्। ‘ऊ राम्रो स्ट्राइकर हो। उसलाई कसरी रोक्ने भन्ने विषयमा हामीले रणनीति बनाएका छौं,’ प्रशिक्षक धरले भने।
नेपाली कप्तान रेनुका नगरकोटीले पनि सोमबारको खेलमा भारतलाई कडा टक्कर दिने बताइन्। ‘विगतको नतिजा के छ? त्यो हाम्रो सरोकारको विषय होइन्। अहिले टिम पुरै नयाँ छ। र, यतिबेला हामीले नतिजा पनि राम्रो दिइरहेका छौं,’ कप्तान रेनुकाले भनिन्।
हाल नेपाली टोलीमा सात नयाँ अनुहार छन्। प्रशिक्षक कुमारले पनि हरेक खेलमा प्रयोग गरिरहेका छन्। जुन सफल पनि साबित भएको छ। भारतविरुद्धको खेलमा पनि २ खेलाडी परिवर्तन हुन सक्ने उनले बताए।




सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

केटीहरु आफ्नो पार्टनरमा यस्ता गुणहरु होस भन्ने चाहन्छन

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले... बाँकी यता

Suman Oli / February 22, 2017

ओलीको उद्धघोष : मधेशी मोर्चा नआएपनि अब चुनाव हुन्छ, मुलुक चुनावमय बन्यो

काठमाडौं, १० फागुण। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक चुनावी माहोलमा अघि... बाँकी यता

Aatma Ram / February 21, 2017

Facebook

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal