राजा महेन्द्रपछिको आत्मबल ओलीमा देखियोः सौरभ

Loading...

ओलीको साथ छोडे माओवादीको दुर्भाग्य’

केपी ओली कुनै समय एमालेभित्रका अल्पमतको प्रतिनिधित्व गर्ने असन्तुष्ट नेता थिए । उनलाई माधव नेपाल र झलनाथ खनालले ‘ब्राकेट’ हालेर शक्तिमा आउनबाट पटक-पटक रोके । तर, त्यो ब्राकेटलाई तोडेर ओली एमालेको मात्रै नभएर राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइछाडे ।

ओली केन्द्रमा आएपछि नेपाली राजनीतिको रुपरेखा फेरिएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवाव र हस्तक्षेपलाई अटेर गरेर अघि बढ्ने आत्मविश्वास मुलुकले आर्जन गरेको छ । म यसलाई नेपालको वैदेशिक नीतिको ठूलै टर्निङ प्वाइन्ट मान्छु । ओलीले दक्षिण छिमेकीसित टक्कर गरेर उसलाई थर्काउँदै छन् । यो सिंगो देशका लागि सुखद आश्चर्य हो । मैल ओलीबाट यति अपेक्षा गरेको थिइनँ । हाम्रै पालामा कुनै नेताबाट यस्तो होला भन्ने अनुमान गरेको थिइनँ ।
राजा महेन्द्रको शासनकालयता पहिलोपटक यस्तो भएको छ, जहाँ भारतले नचाहेका कुराहरु नेपालमा भइरहेका छन् । ओलीको पर्फमेन्स भनेको राजा महेन्द्रको कार्यकालपछि नेपालको फरेन पोलिसीमा ठूलो टर्निङ प्वाइन्ट हो । महेन्द्र पनि बरु २२ सालपछि भारतसँग थाकेका. थिए ।

संविधान निर्माणमा केपी ओलीको निणर्ायक भूमिका रह्यो, अपितु त्यतिबेला उनी प्रधानमन्त्री बनिसकेका थिएनन् । संविधानमा संघीयता र धर्मनिरपेक्षता जस्ता जनताले नरुचाएका विषयवस्तुहरु थिए, तर त्यसो हुँदा हुँदै पनि संविधान घोषणा हुनु नेपालका लागि धेरै दृष्टिले महत्वपूर्ण थियो । अहिले पछाडि फर्केर हेर्दा के महसुस हुन्छ भने त्यतिबेला संविधान घोषणा नभएको भए नेपालको सार्वभौमिकता माथि नै प्रश्न खडा हुने रहेछ । भारतले नेपालको संविधान कहिले पनि बन्न नदिने रहेछ भन्ने अहिले बुझिदैछ ।

संविधानमा भारतको अरु कारणले असन्तुष्टी हो भन्ने मलाई लाग्दैन । भारतलाई नसोधि जून १६ बुँदे यहाँका दलहरुले गरे, असन्तुष्टिको चुरो त्यही नै हो । सिमांकन, समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता मुद्दाहरु देखाउने दाँत हुन् । १६ बुँदेले भारतको अहम्मा धक्का लागेको छ । त्यसको प्रतिशोध खोज्दै जाँदा उ फस्दै गएको हो ।

ओली सही दिशामा

अहिलेका ओली भनेको समकालिन सबै नेताहरुभन्दा लामो भिजन भएको नेताको रुपमा मैले पाएको छु । उनी एक स्टेप पछाडि हटेर दुई स्टेप अगाडि बढ्ने सोच राख्छन् । अनेक कमजोरीका बाबजुद पनि उनी अहिलेको समयमा नेपाललाई आवश्यक सबैभन्दा उपयुक्त पात्र हुन् । यतिबेला माधव नेपाल पाराको ‘मिडियोकर’ नेतृत्वले देश हाँक्न सक्दैन । एग्रेेसिभ एटिच्युड नै चाहिन्छ ।

यति प्रशंसा गर्नुपर्ने गरी ओलीले के गरे त भन्ने प्रश्न उठ्न सक्छ । मेरो विचारमा उनले राष्ट्रनिर्माणको जग खन्ने काम गरेका छन् । यो बाहिरबाट नदेखिने तर अत्यन्तै महत्वपूर्ण काम हो । उनी प्रधानमन्त्रीको कुर्सीमा बसेको एक वर्ष पनि भएको छैन । यो अवधिको सबैभन्दा ठूलो उपलब्धि भनेको भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने काम भएको छ । भारतसँग आवश्यकताभन्दा नजिक र चीनसँग आवश्यकताभन्दा टाढा थियो नेपाल । ओलीले दुवै देशको भ्रमण गरे । भारतसँग विगतका प्रधानमन्त्रीले जस्तै नाजायज सम्झौता गर्लान् कि भन्ने भय थियो, ओलीले त्यो गरेनन् । चीनसँग आवश्यक सम्झौता नगर्लान् कि भन्ने चिन्ता थियो । तर उनले गरेर देखाए ।

चीनसँग गरिएको पारवहन सम्झौता र पेट्रोलियन आयातसम्वन्धि समझदारी नेपालका अभूतपूर्व उपलब्धि हुन् । भोली ओली प्रधानमन्त्री पदमा भए पनि नभए पनि यो सम्झौतामा टेकेर नेपालले भारतमुखी अर्थतन्त्रबाट त्राण पाउन सक्छ । त्यसैले म भन्छु ओलीको विदेश नीति ह्याण्डलिङ बहुआयामिक र दुरगामी छ ।

ओली सही ठाउँमा छन् भन्ने अरु उदाहरणहरु पनि म दिन सक्छु । उनले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गराए । यो एउटा ठूलो सन्देश दिएका हुन् उनले । १० वर्षसम्म भारतका प्रधानमन्त्री नेपाल आएनन् । मनमोहन दुई कार्यकाल प्रधानमन्त्री हुँदासम्म एकपटक नेपाल नटेक्दा पनि भयो । हामीले बोलाउँदा उनीहरु नआए पनि हुने, अनि हामीले चाहिँ टाउकोले टेकेर जानुपर्ने कहाँको नियम छ ? जे भयो सही भयो ।

भारतीय राजदूत फिर्ताको घटनालाई पनि म समर्थन गर्छु । राजदूत भनेको एउटा उच्च महत्वको तटस्थ जिम्मेवारी हो । कसैको पोलिटिकल करिअर सकिन लाग्यो भनेर त्यहाँ लगेर डम्प गर्ने होइन ।

विगतमा अलिकति ‘लेफ्ट लिनिङ’ भएको मोहनमान सैंजुलाई अमेरिकाले एग्रीमो पठायो । भारतपट्ट िझुकाव भएका यदुनाथ खनाललाई चीनले एगि्रमो पठायो । भारतलाई चाहिँ उसैको मान्छे किन चाहिने ? लोकराज बराल, दुर्गेशमान सिंह, रुक्मशम्शर नै किन चाहिने ? त्यसैको कन्टिन्यूटी थियो दीपकुमार उपाध्यायको नियुक्ती । उसले अह्राए-खटाएको काम नै गर्ने हो भने किन राजदूत पठाउने ? यस्ता मान्छे पठाउनुभन्दा नपठाउनु नै ठीक हो ।

सरकारले जे आशयले निर्णय लिएको भए पनि म राजदूत फिर्ताको स्वागत गर्दछु । एउटा राजदूतले दुई देशबीच कसरी सेतुको भुमिका खेल्नुपर्छ भन्ने उदाहरण महेश मास्के छन् । दीपकुमारसँग त्यस्तो क्षमता, ल्याकत देखिएन । राजदूतमा उनको नियुक्ती नै ठीक थिएन । तीन वर्षदेखि दिल्लीको राजदूत हुन आफैं धाउने, सुशील कोइरालाले जबरजस्ति बनाइदियो भन्दै हिँड्ने ?

सरकारले अहिलेसम्म चमत्कारै गरेको छ त म भन्दिन, तर ओलीले जे गर्दैछन् ठीक छ ।

ओली भारत जाँदा राष्ट्रहित विरोधि सम्झौता होलान् कि भन्ने त्राश थियो, त्यो भएन । चीन जाँदा देश हितका सम्झौता नहोला कि भन्ने चिन्ता थियो । त्यो भयो । हामीले आशै नगरेको पारवहन सम्झौतासम्म भएको छ भने नेपालमा पेट्रोल ल्याउने समझदारी भएको छ ।

म बुद्ध सर्किटको समर्थक वा हिन्दु सर्किटको समर्थक होइन । लुम्बिनीमा एयरपोर्ट बनाएर पर्यटनबाट नेपालले आम्दानी गर्न नसकोस भनेर इन्डियाले एयरपोर्ट निजगढमा सार्न लगाएको हो । त्यसलाई गया र सारनाथसँग जोड्ने योजना हो । ओली सरकारले आन्तरिक बुद्ध सर्किट भनेको छ, रामग्राम कपिलवस्तु जोड्ने गरेर । त्यो अनपेक्षितरुपमा मलाई राम्रो लाग्यो । मैले सोचेको थिइन, यत्तिको भिजन ओलीसित होला भन्ने ।

अर्को कुरा फास्ट ट्रयाक नेपाल आफैंले बनाओस भन्ने चाहना थियो । इन्डियालाई यो दिनु भनेको हाम्रो सार्वभौमसत्ता दिनु जस्तै हुन्थ्यो । टनकपुर, गण्डक, कोशीमा उसको सिपाही राखेजस्तै हाम्रो फास्ट ट्र्याकको रक्षा गर्ने नाममा उसका सिपाही आउँथे । त्यसैले नेपालले नै बनाउनुको अर्थ कुटनीतिकरुपमा इन्डियालाई नदिने भनिएको हो । यो ठीक छ ।

यथार्थको तराजुमा ओलीको बोली

प्रधानमन्त्री भएको दिनदेखि नै एकथरीले उनीविरुद्ध कोकोहोलो सिर्जना गरिररहेका छन्, मुलतः उनका अभिव्यक्तिहरुलाई लिएर । तर म ओलीका अभिव्यक्तिमा कुनै समस्या देख्दिन । ओलीले बोलेका कुराहरु महत्वाकांक्षी छन्, तर असम्भव छैनन् । उनले जे जति कुराहरु बोलेका छन्, यथार्थको धरातलमा टेकेरै बोलेका छन् ।

ओलीले एक पछि अर्को महत्वाकांक्षी भाषा बोलिरहनुका धेरै कारण होलान् । यसको रणनीतिक पक्षलाई पनि हेर्नुपर्छ । हुन सक्छ उनी आफ्ना भाषणमा विरोधिहरुलाई अल्मल्याएर कुनै गम्भीर मिसन फत्ते गर्न चाहन्छन् ।

बोल्दा जुन भाषा शैली प्रयोग भयो त्यो अलिकति वजनदार भनिएन कि भन्ने मात्रै हो । साह्रै क्याजुअल भाषामा गर्दा मान्छेलाई उडाउने मसला बनेको हुन सक्छ । पानीजनहाजको कुरा गर्ने हो भने विगतमा २२ दिन नेपालको पानीजहाज कलकत्ता पोर्टमा बसेकै हो, नरेन्द्रलक्ष्मी नामको । रोयल नेपाल सिपिङ कर्पोरेसन रवीशम्शेरको अध्यक्षतामा निर्माण भएको थियो । बहादुरभवनमा त्यसको अफिस थियो ।

पानीजहाजको पहिलो किस्ता तिरेको हो, दोस्रो एजेन्टले खायो र तेस्रो तिर्न नसकेपछि नेपाली लगानीकर्ता डुबेको हो । त्यतिबेला पानीजहाज सञ्चालनका लागि पाराद्विप आइल्याण्ड लिजमा लिन खोजिएको पनि हो । पाराद्वीप आइल्याण्डमा नेपालले पोर्ट बनाउन चाहेको थियो ।

त्यसो त मरिचमानको पालामा नेपालमै पानीजहाज ल्याउन सकिन्छ कि भनेर अध्ययन पनि भएकै हो । गंगाको पानीको उचाई केही गरी बढ्यो भने हाम्रा खोलाहरुको पनि उचाई बढ्छ र त्यतिबेला नारायणी घाटसम्म कम क्षमताको पानीजहाज ल्याउन सकिन्छ भन्ने थियो । बे अफ बंगालबाट नारायणीसम्म पानीजहाज ल्याउने कुरा अहिले पनि सम्भव छ । साइन्समा एउटा फर्मुला प्रमाणित भएपछि त्यो त जहिले पनि काम लाग्छ नी ।

नेपालले पानीजहाज सञ्चालन गर्दा भारतसितको पारवहन सन्धिले छेक्न सक्छ भन्ने कुराहरु आएका छन् । छेक्छ पनि होला । तर यसको समाधान निकाल्न नसकिने होइन । पारवहन सम्झौतालाई परिमार्जन गर्न नसकिने होइन । भारतले इरानबाट पेटोलको पाइपलाइन पाकिस्तानको बाटो भएर ल्याउदैछ । जबकि पाकिस्तानसँग भारतको डरलाग्दो झगडा छ नी । रुसको सिंगै यूरोपसँग कुरा मिल्दैन । रुसको पेट्रोल पाइपलाइन यूरोपमा गएको छ । लिबियाको मेडेटेरियन समुद्रबाट झारेर यूरोपमा ४ वटा पेट्रोल पाइपलाइन पुगेको छ । पारवहनको कुरा संसोधन हुन सक्छ । वैज्ञानिकरुपमा ‘भायवल’ कुरा हो ।

काठमाडाैं उपत्यकाभित्र ग्यास छ भनेर पत्ता लगाएको मोहनध्वज बस्नेतले हो तर, क्रेडिट जाइकालाई गयो । टेवहालका मोहनध्वज भागलपुरबाट इन्जिनियरिङ गरेका वैज्ञानिक हुन् । त्यतिबेला काठमाडौंलाई ५० वर्षलाई पुग्ने ग्यास छ भन्ने थियो । त्यसमा धेरै उडेर गयो होला । त्यो बेलामा सिस्टम विकास गरिएन । पेट्रोल अन्वेषणमा आएको डच कम्पनीलाई इन्डियाले भगाएको हो भन्ने कुरा मिडियामा आइसकेको छ । सम्भावना देखेको भएरै इन्डियाले भगाएको न हो ।

यद्यपि पेट्रोल उत्खनन गर्ने कुरा प्रधानमन्त्रीले सोचेजस्तो चाँडो नहोला । उहाँले दुई वर्षमा उत्खनन गर्छौं भन्नुभएको छ । तर, पेट्रोल निकालेर मात्रै भएन, रिफाइन गर्नुपर्‍यो । रिफाइन कहाँ गर्ने ? नेपालमा रिफाइनरी स्थापना गर्ने कुरा टाढाको हो । प्राविधिक रुपमा पनि कठिन छ । इन्डियाले रिफाइन गरिदिँदैन । वार फुटिङमा चीनले गरिदियो भने हो । त्यछि छिटो सम्भव छैन ।

चीनबाट रेल ल्याउने कुरा आजभन्दा २० वर्ष अगाडि हुन थालेको हो । सिंगापुरबाट बेइजिङसम्म आठ हजार किलोमिटर रेल्वेको योजना लि क्वान यू र चाइनाले मिलेर गरेको मैले पढेको छु । असम्भव केही छैन । २० मिलिग्रामको १०० वटा रकेट बनाएर ३० वर्षभित्र बाहिरको प्लानेटमा छोड्ने कुरा आइरहेको छ, जसको दुईवटा विङ डेढ डेढ मिलिग्रामको हुन्छ । पिटर हकिन्स र एल्बिन आयल्ड्रीन (१९६९ मा एपोलो ११ मा चन्द्रमा ल्याण्ड गर्ने व्यक्ति) ले भनेका छन्, छिटोभन्दा छिटो मंगल ग्रहमा बसाई सरौं । असम्भव के छ ?

मलाई ओलीले भनेको कुनै कुरा केटाकेटी लाग्दैन । कुनै पनि वैज्ञानिक सोच राख्ने मान्छेले भविष्यमा यो हुँदैन भन्नु हुन्दैन । भविष्यमा जे पनि हुन सक्छ । स्याटेलाइट त भयो । म यसलाई असम्भव देख्दिन । नेपालीमा कन्फिडेन्स नभएको मात्र हो ।

ओलीविरुद्धको चक्रव्यूह

ओलीको मुख्य चुनौति के छ भने देशमा उनीविरुद्ध माहोल खडा गर्न खोजिएको छ । अरु पार्टी मात्र होइन, आफ्नै पार्टीभित्र दुश्मनहरु छन् । पहिलेदेखि २ जना उभिएर बसेका छन् । सबैभन्दा खतरा माधव नेपाल छन् । यद्यपि, ओलीको हाइट पार्टीको नेताभन्दा धेरै माथि उठिसकेको छ । माधव नेपाल उनको अगाडि बाउन्ने भइसकेका छन् । तर बेला-बेला भकुण्डे भुत जसरी तर्साउछन् ।

आफ्नो पार्टीमा पूरा पकड भए ओलीले धेरै कुरा नबोलेर पनि काम बन्थ्यो । तर, त्यसो नभएकाले बोल्नुपर्ने स्थिति छ । उनले नचाहेर पनि बोल्नुपर्ने स्थिति छ । तर उनको बोलीलाई साथ दिने खालको ब्यूरोक्रेसी छैन । ब्यूरोक्रकेसीमा ट्रेड युनियनिज्म हावी छ । सरकारले पोलिसी बनाउछ । संसदले कानून पास गरेर लागू गर्न भनेर सरकारलाई दिन्छ । तर, सरकारलाई ब्यूरोक्रेसीले हेल्प गर्दैन । ट्रेड युनियनिज्म नभएकाले नै अमेरिका बनेको हो । टे्रड युनियनिज्मले हाम्रो देश बन्न दिइरहेको छैन । ओलीजस्तो मान्छेलाई बडो गाह्रो छ ।

सरकार परिवर्तनको चर्चा जबरजस्त रुपमा चलाइएको छ । तर यतिबेला कांग्रेसको ‘फेस अफ’ भएको अवस्था छ । उ जनतामाझ चरम अलोकपि्रय छ । उसँग कुनै बलियो एजेन्डा छैन । अर्को शक्ति माओवादी न यता न उताको अवस्थामा छ । माओवादीले साथ दिन छोड्यो भने सरकार ढल्ने हो । तर उसले सजिलै सरकार ढाल्न सक्दैन । माओवादी इन्डियाको नजिकै हुन सकेको छैन । चीनले उसलाई विश्वास गरिसकेको छैन । यतिबेला सरकार साथ छाड्यो भने माओवादी कसैको पनि विश्वसनीय हुन्न । न भारतको न चीनको न नेपाली जनताको । माओवादी कहिँको पनि रहन्न । त्यसैले पनि सरकार छाड्नुअघि माओवादीले हजारचोटी सोच्नुपर्छ ।

ओलीलाई हटाउन र भाँडभैलो मच्चाउन इन्डियाले रोल खेल्छ र खेलिरहेको छ । हामीले कल्पना गरेको भन्दा धेरै गुणा नराम्रो रोल पनि खेल्न सक्छ भविष्यमा । उसले कुने लाज मान्दैन । त्यसको सामना गर्न हामीलाई मुस्किल हुन्छ ।

तर, मलाई लाग्छ त्यस्तो परिस्थितिमा सारा नेपाली जनता एकजुट हुन्छन् । ओलीलाई सबैले साथ दिन्छन् । अन्त्यमा भारतले सक्दैन । छिमेकीहरुसँग दुश्मनी राखेर विश्वको नेता हुन सकिदैन भन्ने इन्डियनहरुले रियलाइज कहिल्यै गरेनन्, अब गर्छन् कि ?

यतिबेला ओलीविरुद्ध रचिएको चक्रव्यूह स्वभाविक नै हो । नेपालभित्र अरुको लहैलहैमा दौडिने एउटा तप्का छ । एउटाले ओलीलाई उडाएर लेख्यो भने म पनि केही लेखिदिउँ न भन्ने खालको । यो एक किसिमको मास साइकोलोजी हो । तर, यो त्यति हानीकारक छैन । हानिकारक छ, मिडियालाई प्रयोग गरी सरकार ढाल्न भइरहेको प्रायोजित खेल ।

महेन्द्रपछि ओलीको आत्मबल

ओलीको खास पृष्ठभूमि कस्तो हो म भन्न सक्दिन । उनी विगतमा भारतसँग नजिक थिए भन्ने आरोप लाग्छन् । त्यसै आरोप लागेन होला । हावा नआइकन पात हल्लिदैन । तर, जसले पनि आफूलाई सच्याउन पाउँछ । ओलीले पनि सच्याएका छन् । देशप्रतिको कर्तव्यवोध गरेका छन् ।

नेपाललाई सार्वभौमसत्ताविहिन बनाउने भारतीय योजना ओलीले तुहाएकै हो । त्यसैले इन्डियासँगको सम्वन्ध अहिले कम्प्लेक्स मोडमा पुगेको छ । भारतलाई यसरी हल्लाउने ओलीले लिएको अभिव्यक्तिलाई कुनै पनि सचेत नागरिकले उखान टुक्का भनेर उडाउन मिल्दैन ।

तनावपूर्ण राजनीतिका बीच ओली अहिलेसम्म अडिएको भनेको आफ्नो आत्मबलले गर्दा नै हो । उनको आयू लम्ब्याउने मुख्य औषधि नै आत्मबल हो । यस्तो आत्मबल धेरै ठूलो कालखण्डमा आउँछ । विगतमा यस्तो आत्मबल महेन्द्रमा देखिएको थियो । महेन्द्र स्कुल कलेजमा पढेका होइन् । घरेलु शिक्षा प्राप्त हुन् । उनीसँग पैसा थिएन, सोहोरेर सबै राणाले लगेका थिए । अर्काले छोडेको सिस्टममा हात हाल्नुपरेको थियो । को आफ्ना हुन् र को होइनन् थाहा थिएन । नजिकको छिमेको सहयोगी थिएन । अर्को छिमेकीसँग दुरी थियो । त्यो महासंकटमा प्रकृतिले दिएको ‘सिक्स्थ सेन्स’ र भगवानले दिएको आत्मविश्वासलाई फ्यूजन गरेर बनेको मनोबल महेन्द्रमा थियो । त्यो अद्भुत थियो ।

महेन्द्रभन्दा अघि जंगबहादुरको मनोबल थियो । आफू सात जना दाजुभाई मिलेर कोतमा भएका सबै मान्छे काट्छु भन्नु कम ठूलो कुरा होइन । ६२/६३ मान्छे कोट्दा आफ्नो परिवारको पनि ज्यानको सवाल थियो । आफूले पो हतियार लुकाएको छ त, अर्कोले पनि लुकाएको थियो भने के हुन्थ्यो ?

कि पृथ्वीनारायण शाहको थियो मनोबल । चार सय मान्छे लिएर किर्तिपुरमा आक्रमण गर्न आएका हुन् । जबकि किर्तिपुरको जनसंख्या ६ हजार थियो । आफू फेदमा बसेर लड्नु भनेको दुस्साहस हो । माथिबाट ढुंगै गुडाए पनि पुग्छ । त्यसै भएको होइन त्यो ।

ओलीका दुर्गुण पनि छन् । उनी अझै पनि एउटा सानो घेरोभित्र कैद छन् जस्तो बुझिन्छ । धेरै मान्छेसँग आइडिया सेयर गर्दैनन् र अरुका कुरालाई महत्व दिँदैनन् । मैले सुनेअनुसार ओलीले नेपालमा बाबुराम आचार्य बाहेक अरु कसैलाई मान्छे नै गनेका छैनन् । उनको यो अज्ञानताभन्दा पनि अहम् हो । तर अहम् भनेको काहिलेकाहीँ शक्ति पनि भइदिन्छ । महादेवले विष पिउनु पनि अहम् थियो । त्यो आत्मविश्वासले पिएको हो । हेरौं ओलीको अहम्ले के-कति काम गर्छ ।

(कुराकानीमा आधारित)/ -अनलाइनखबरबाट



Loading...

सम्बन्धीत खबरहरु


Related Post

ताजा खबर      

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन्... बाँकी यता

Aatma Ram / January 18, 2017

आफ्नो वर्चस्व जमाउन पहाडीया शासकले मधेसको जमिन कब्जा गरेः सिके राउत

सिरहा– स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सी.के. राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने... बाँकी यता

Aatma Ram / January 18, 2017

Facebook

Loading...

 फोटो ग्यालरी

सर्वाधिकार © 2017: saसाझा खबर मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | सर्तहरु Designed by: Profile Nepal